f आज बाढीको जोखिममा यी ठाउँ...

आज बाढीको जोखिममा यी ठाउँ…

काठमाडौं । देशका विभिन्न पहाडी तथा हिमाली जिल्लाबाट बहने स–साना नदी तथा खोलामा आज पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, रुकुम पूर्व, रुकुम पश्चिम, मुस्ताङ, मुगु, बाजुरा, बझाङ, दार्चुला र बैतडी तथा आसपासका जिल्लामा बाढीको जोखिम छ ।

ती जिल्लामा बहने ससाना नदी, खोला तथा खोल्सामा वर्षाका कारण जलसतह र बहाव अचानक बढ्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ । छोटो समयमा ठूलो पानी परेको अवस्थामा साना नदी तथा खोलामा एक्कासि बाढी आउन सक्ने भएकाले नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसैगरी, कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीलगायत प्रमुख नदी तथा तिनका सहायक नदीको बहावसमेत बढ्ने पूर्वानुमान गरिएको छ । बाढीको जोखिम रहेका जिल्लामा नदी किनार, खोला तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

नदीमा पानीको बहाव बढिरहेको अवस्थामा नदी तर्ने, माछा मार्ने, किनारमा जाने वा अनावश्यक रूपमा खोला तथा नदी नजिक पुग्ने कार्य नगर्न पनि महाशाखाले आग्रह गरेको छ ।