f स्थानीय निर्वाचनको तालिकासँग मिलाएर काँग्रेसले प्रदेश र जिल्ला अधिवेशन गर्ने 

स्थानीय निर्वाचनको तालिकासँग मिलाएर काँग्रेसले प्रदेश र जिल्ला अधिवेशन गर्ने 

काठमाडौं । नेपाली काँग्रेसले आगामी स्थानीय तह निर्वाचनको समय तालिकालाई ध्यानमा राख्दै पार्टीका प्रदेश र जिल्ला अधिवेशनको मिति निर्धारण गर्ने भएको छ । प्रदेश र जिल्लासँगै बाँकी रहेका सांगठनिक अधिवेशनको कार्यतालिका केन्द्रीय समितिमा छलफल गरेर तय गरिने भएको हो ।

पार्टीका सभापति गगन थापाले पोखरामा आयोजित एक कार्यक्रममा यस्तो जानकारी दिनुभएको हो । स्थानीय निर्वाचनको तयारी र पार्टीको आन्तरिक संगठन व्यवस्थापनलाई सँगसँगै अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।

प्रदेश र जिल्ला तहका अधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारी बाँकी रहेको उल्लेख गर्दै उहाँले केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूसँग परामर्श गरेर उपयुक्त समय निर्धारण गरिने बताउनुभयो । यस क्रममा आगामी स्थानीय निर्वाचनलाई समेत आधार बनाइने उहाँको भनाइ छ।

थापाले पार्टीको अधिवेशन नेतृत्व चयनमा मात्रै सीमित हुन नहुने भन्दै त्यसबाट भएका निर्णयलाई संगठनको व्यवहारमा उतार्नु महत्त्वपूर्ण हुने बताउनुभयो । अधिवेशनले तय गरेका नीति, कार्यक्रम र सांगठनिक प्रतिबद्धताको कार्यान्वयनलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।