प्रधानमन्त्री कप क्रिकेटमा आज: कर्णालीले एपीएफलाई हरायो, पुलिसको लनातार आठौं जित

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

कीर्तिपुरमा भएको खेलमा कर्णालीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २१ रनले हरायो । कर्णालीले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । एपीएफका आसिफ शेखले शतक बनाए पनि जित पर्याप्त भएन । आसिफ १ सय १२ बलमा १ सय ८ रन बनाएर आउट भए । कर्णालीका प्रकाश जैशीले ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको कर्णाली ४४ ओभर १ बलमा २ सय ६ रनमा अल आउट भयो । कर्णालीका हिमांशु शाही र अर्जुन घर्तीले अर्धशतक बनाए । हिमांशु ६२ र अर्जुन ५३ रन बनाएर आउट भए । एपीएफका मौसम ढकालले ३ विकेट लिए । यो जितसँगै कर्णालीले ८ अङ्क जोडेको छ । एपीएफको १० अङ्क छ ।

यस्तै मूलपानीमा भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई १ सय ३ रनले हरायो । पुलिसले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ३६ ओभर ३ बलमा १ सय ४२ रनमा अल आउट भयो । लुम्बिनीका दिलसाद अलीले ३६ रन बनाए । पुलिसका कुशल भुर्तेलले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको पुलिस ३७ ओभर ३ बलमा २ सय ४५ रनमा अल आउट भयो । पुलिसका कप्तान आरिफ शेखले ७६, करण केसीले ५७, कुशल भुर्तेलले ४८ रन बनाए । लुम्बिनीका नर सार्कीले ४, वीर मगरले ३ विकेट लिए । लगातार ८ खेल जितेको पुलिसले १६ अङ्क जोडेको छ । लुम्बिनीको २ अङ्क छ ।