मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २८ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

खेलकुद :

लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

३ मिनेट पढाइ
१साझा

kuse inside

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ ।बिहीबार भएको लो स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल बाँकी छँदै प्लेअफमा स्थान बनाएको हो ।

Dailekhi urja

कर्णालीले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले २० बल अगावै ६ विकेट गुमाएर पूरा गरेको हो ।

६ खेलबाट लुम्बिनीले ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । लुम्बिनीले अब लिग चरणको आफ्नो अन्तिम खेल विराटनगर किंग्ससँग खेल्नेछ ।

अर्कोतर्फ लगातार चौथो हार बेहोरेको कर्णालीको प्लेअफ सम्भावना भने कमजोर बनेको छ । सुरुवाती दुई खेलमा जित हात पारेको कर्णाली त्यसपछि लगातार चार खेलमा पराजित भएको हो । कर्णाली ६ खेलबाट ४ अंकसहित सातौँ स्थानमा छ ।

लुम्बिनीका लागि डार्शी सर्टले सर्वाधिक ४६ रन बनाउनुभयो । उहाँ अर्धशतक बनाउनबाट ४ रनले चुक्नुभयो । १४औँ ओभरमा आउट हुनुअघि उहाँले ३४ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गर्नुभयो । दिलीप नाथले अविजित २८ रनको योगदान दिनुभयो ।

सुरुवातदेखि नै विकेट गुमाए पनि डार्शी सर्टले एक छेउबाट लुम्बिनीको इनिङ्स सम्हाल्नुभएको थियो ।

आसिफ पौडेल र कप्तान रोहित पौडेल समान १ तथा सन्दीप जोरा ४ रनमा आउट भएपछि लुम्बिनीले १९ रनमै ३ विकेट गुमाएको थियो । सर्ट र निरोशन डिकवेलाले मिलेर चौथो विकेटका लागि ४१ रनको साझेदारी गर्नुभयो ।

डिकवेलाले १३ बलमा २ चौकाको मद्दतमा १६ रन जोड्नुभयो । डिकवेला आउट भएपछि डार्शी सर्टले दिलीप नाथसँग मिलेर इनिङ्स अघि बढाउनुभयो । तर सर्ट पनि आउट भएपछि दिलीप नाथले लुम्बिनीको इनिङ्स सम्हाल्नुभयो ।

शमिम हुसेन ५ रन जोडेर आउट हुनुभयो । दिलीप नाथले २७ बल खेल्दै ४ चौकाको मद्दतमा अविजित २८ रन बनाउनुभयो । उहाँले हुसेन तलतको बलमा विजयी चौका प्रहार गर्नुभयो ।

बलिङमा कर्णालीका लागि मार्क वाटले शानदार प्रदर्शन गर्नुभयो । उहाँले ४ ओभरमा १ ओभर मेडन राख्दै १२ रन मात्र खर्चेर ४ विकेट लिनुभयो । पवन सर्राफ र हुसेन तलतले १–१ विकेट लिनुभयो ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रनमा अलआउट भएको थियो ।

कर्णालीका लागि सोमपाल कामीले १८ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा सर्वाधिक २८ रन बनाउनुभयो । हुसेन तलतले २२ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा २४ रन जोड्नुभयो । पवन सर्राफले २४ बल खेल्दै जम्मा १२ रन बनाउनुभयो । गुल्सन झाले १३ रन जोड्नुभयो ।

बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सक्नुभएन । यस सिजन पहिलो खेल खेल्दै ओपनिङ गर्नुभएका दीपेन्द्र रावत खाता नखोली आउट हुनुभयो । अरिफुल इस्लाम र दीपक डुम्रे समान ४, नयाँ कप्तान डेभिड मिलर ५, मार्क वाट २ र नन्दन यादव ३ रन बनाएर आउट हुनुभयो ।

१५ रनमै ४ विकेट गुमाएको कर्णालीका लागि पवन र सोमपालले ४० रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गर्नुभएको थियो । तर नियमित अन्तरालमा विकेट गुमेपछि कर्णालीको रन गति रोकिएको थियो ।

लुम्बिनीका लागि बलिङमा अभिशेष गौतम, डार्शी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले २–२ विकेट लिनुभयो । यस्तै रुबेन ट्रम्पलम्यान र शेर मल्लले १–१ विकेट लिनुभयो ।

nepalgunj