
काठमाडौं । महिला यू–१९ ‘ए’ महिला क्रिकेटमा भारतविरुद्ध नेपाल १२५ रनले पराजित भएको छ । भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो

नेपालका लागि सावित्री धामीले १९ र तृषना विश्वकर्माले १८ रन जोड्नुभयो । बाँकी नेपाली ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सक्नुभएन ।
भारतका लागि बलिङतर्फ मैत्री मनियारले तीन ओभरमा एक मेडनसहित सात रन दिएर सर्वाधिक चार विकेट लिनुभयो ।
त्यसअघि भारतको बेंगलुरुस्थित भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०५ रन बनाएको थियो ।
भारतका लागि भाविका अहिरेले ४८, तानिष्का शर्माले ३६, आर्या पोङ्दे र निधि महतोले ३५–३५ तथा इरा जाधवले २६ रन बनाउनुभयो ।
नेपालका लागि बलिङतर्फ टीका साहले दुई तथा रचना चौधरी र आशिका महराले समान एक–एक विकेट लिनुभयो ।
भारत भ्रमणअन्तर्गत शृङ्खलाको पहिलो खेलमा नेपाली टोली नौ विकेटले पराजित भएको थियो । नेपालले अब तेस्रो खेल बुधबार खेल्ने तालिका छ ।
नेपालले आगामी वर्ष घरेलु मैदानमा आयोजना हुने यू–१९ विश्वकपको तयारीका लागि भारतमा अभ्यास गरिरहेको हो ।




