
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गर्ने अर्को टोलीको टुङ्गो आज लाग्दैछ । यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा पुगिसकेको छ ।

दोस्रो क्वालिफायरमा आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिवि क्रिकेट रंगशालामो खेल बेलुका ५ बजे शुरु हुनेछ । आजको खेल जित्ने टोलीले उपाधिका लागि पर्सि शनिवार साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यसैले आज सुदूरपश्चिमलाई पहिलो क्वालिफायरमा बेहोरेको हारको बदला लिँदै फाइनल पुग्ने अवसर छ ।
चितवन पहिलोपटक एनपीएलको फाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रंदैछ । चितवनले दोस्रो क्वालिफायरमा स्थान बनाउने क्रममा हिजो भएको एलिमिनेटरमा काठमाण्डौ गोर्खाजलाई ६१ रनले पराजित गरेको हो ।
चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाण्डौले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रनमात्र बनाउन सक्यो । चितवनसँग पराजित भएसँगै काठमाण्डौ गोर्खाजको उपाधि यात्रा समाप्त भएको छ ।
आजको खेलले फाइनलमा लुम्बिनीसँग खेल्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । आज चितवन विजयी भए पहिलोपटक फाइनल पुग्दै इतिहास बनाउनेछ भने सुदूरपश्चिम विजयी भए लगातार तेस्रोपटक फाइनलमा पुग्नेछ ।
यसअघि सुदूरपश्चिम पहिलो र दोस्रो सिजनमा फाईनलमा पुगे पनि उपाधी जित्न सकेको छैन ।




