त्रिकोणात्मक टी–२० शृङ्खला: नेदरल्यान्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको बिहीबारको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई जितका लागि दुई सय ४८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय ४७ रन बनाएको हो ।

नेदरल्यान्ड्सका लागि ओपनर ब्याट्सम्यान माइकल लेभिटले उत्कृष्ट शतकीय पाली खेले । उनले एक सय ३५ रन बनाए ।

उनले केवल ६२ बलको सामना गरी १० छक्का र ११ चौकाका पनि हिर्काए । तेस्रो नम्बरका ब्याट्सम्यान साइब्रान्डले पनि अर्धशतकी पाली खेले । उनले केवल ४० बलको सामना गरी पाँच छक्का र सात चौकाको मदतमा ७५ रन बनाए । तेजा निदामनुरुले पनि १८ रन बनाए । नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले दुई विकेट लिए ।