आयरल्यान्ड ’ए’ सँग नेपाल ’ए’ को लज्जास्पद हार

काठमाण्डौ । आयरल्यान्ड ’ए’ टोलीसँगको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ’ए’ टोलीले लज्जास्पद हार बेहोरेको छ । नेपाल ’ए’ १ सय १४ रनले पराजित भयो ।

आयरल्यान्ड ’ए’ ले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको नेपाल ’ए’ १६ ओभर ५ बलमा ६० रनमै अल आउट भयो । नेपालका भीम सार्कीले सबैभन्दा धेरै १७ रन बनाए । यस्तै कप्तान विनोद भण्डारीले १६ रन बनाए । अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गरेनन् । बलिङतर्फ आयरल्यान्ड ’ए’ का म्याथ्यु हमफ्रेसले ६ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ३८ ओभर ४ बलमा १ सय ७४ रन बनाएर अल आउट भयो । आयरल्यान्ड ’ए’ का गभिन होएले ५०, कप्तान निल रकले ४५, लायम म्याककार्थीले ३५ रन बनाए । बलिङतर्फ नेपाल ’ए’ का रिजन ढकाल र शाहब आलमले समान ३ विकेट लिए । यस्तै मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।

योसँगै आयरल्यान्ड ’ए’ ले तीन खेलको शृङ्खला एक खेलअघि नै जितेको छ । पहिलो खेलमा नेपाल ’ए’ २१ रनले पराजित भएको थियो । शृङ्खलाको अन्तिम खेल पर्सि आइतवार हुनेछ ।