खानेपानी विभागको सुर्खेत कार्यालय प्रमुखविहिन, मजदुर र कर्मचारीले पाएनन् ज्याला र तलब

सुर्खेत । खानेपानी तथा ढल व्यवस्थापन विभागको सुर्खेत कार्यालयमा लामो समयदेखि कार्यालय प्रमुख नहुँदा कर्णालीमा सञ्चालित खानेपानीका आयोजनाहरु अलपत्र पर्न थालेका छन् ।

सुर्खेत कार्यालयले कर्णालीका ६ जिल्लामा कार्य क्षेत्र बनाएर काम गरिरहेको छ । तर लामो समयदेखि कार्यालय प्रमुख नहुँदा केही आयोजनाहरु अलपत्र बन्न थालेका हुन् ।

कार्यालयका अनुसार ६ जिल्लामा साना ठुला गरी करिब ८० आयोजना अहिले संचालनमा छन् । ती आयोजनामध्ये केही सम्पन्न भइसकेका छन् । कार्यालयबाट आर्थिक कारोबार नहुँदा उपभोक्ता समितिमार्फत कार्यान्वयन गराइएका आयोजनाहरुबाट मजदुरहरु तथा कार्यालयकै कर्मचारीलेसमेत रकम पाउन नसकेका हुन् ।

दैलेख गुराँस गाउँपालिका वडा नम्बर ८ मा संचालित झ्याँजे–भिउचुला खानेपानी आयोजनाको भवन निर्माण उपभोक्ता समितिमार्फत निर्माण कार्य सम्पन्न भएको ६ महिना पुग्दा पनि मजदुरहरुले ज्याला पाएका छैनन् ।

ज्याला नपाउँदा आफूहरुजस्ता काम गरिखानेहरुलाई गर्जो टार्न नै समस्या भइरहेको मजदुरहरुले गुनासो गरेका छन् । काम सम्पन्न भएको लामो समयसम्म पनि आफूसहित २० जना मजुदुरले ज्याला नपाएको स्थानीय भोजबहादुर खड्काले बताउनुभयो ।

यसैगरी कार्यालयका कर्मचारीले समेत विगत दुई महिनायता तलव प्राप्त गर्न सकेका छैनन् । कार्यालय अहिले निमित्त प्रमुखको भरमा चलेको छ तर निमित्त प्रमुखलाई आर्थिक अख्तियारी नहुँदा समस्या भएको हो । कार्यालयका निमित्त प्रमुख शिवबहादुर अर्यालले कार्यालय प्रमुख नहुँदा आफुहरुले समेत २ महिनादेखि तलब खान नपाएको बताउनुभयो ।

आफूले यस विषयमा संघीय खानेपानी मन्त्रालयमा जानकारी गराएको भएपनि निर्णय हुन नसकेको उहाँको भनाई छ । कार्यालयमा पर्याप्त कर्मचारी नहुँदा काम गर्न समस्या भएको उहाँले बताउनुभयो ।

यता, संघिय खानेपानी मन्त्रालय अन्तरगतको खानेपानी तथा ढल व्यवस्थापन विभागले भने यस विषयमा कुनै प्रतिक्रिया दिन मानेको छैन ।