काठमाडौं । आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । सूर्यको किरणसँग सम्बन्धित तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवालगायत राजनितिक दलका प्रमुखहरुले शुभकामना सन्देश व्यक्त गरेका छन् ।
राष्ट्रपतिको शुभकामना सन्देशः
राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको हो ।
“मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवर्धन गर्दै पर्यटन प्रवर्धनमार्फत आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ”, सन्देशमा भनिएको छ ।
राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको शुभकामना पनि व्यक्त गरेकी छन् ।
उपराष्ट्रपतिद्वारा व्यक्त शुभकामनाः
उपराष्ट्रपति नन्दबहादुर पुनले ल्होसार पर्वले नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरण सहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले देशको मौलिक संस्कृतिको संरक्षण, प्रवर्धन गर्नुका साथै राजनीतिक स्थायित्व, दिगो विकास र संविधानको पालनमा ल्होसारले प्रेरित गर्ने बताउनुभयो ।
प्रधानमन्त्रीको शुभकामनाः
प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले आज जारी गरेको शुभकामना सन्देशमा विशेषगरी गुरुङ समुदायले मनाउने ल्होसार पर्व हाल एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा देशभर मनाइने गरेको उल्लेख छ ।
फोटोः गोरखापत्र
खबर बजार । १५ पुष २०७८, बिहीबार ०४:११