
काठमाडौं । सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा आज सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई ७ रनले हराएको हो ।

सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौँले २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो । काठमाडौँका राशिद खानले अविजित ३५ रन बनाउनुभयो । सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिनुभयो ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ६० र थरिन्दु रत्नायकेले अविजित २६ रन बनाउनुभयो । काठमाडौँका जहानदाद खानले ३ तथा सन्तोष यादवले २ विकेट लिनुभयो ।
एक समय ८ रन बनाउँदा ४ विकेट गुमाएको अवस्थामा दीपेन्द्र र आरिफ शेखले पाँचौँ विकेटका लागि ५४ रनको साझेदारी गर्नुभयो । यस्तै दीपेन्द्र र थरिन्दुले पनि छैटौँ विकेटका लागि ५४ रनको साझेदारी गर्नुभयो ।
यो जितसँगै सुदूरपश्चिम ७ खेलमा १० अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । १ खेल खेल्न बाँकी रहेको काठमाडौँको प्लेअफ सम्भावना कायमै छ । काठमाडौँ ६ खेलमा ८ अंकसहित तेस्रो स्थानमा छ ।
सुदूरपश्चिम प्लेअफमा पुग्ने दोस्रो टोली हो । यसअघि साविक उपाधि विजेता लुम्बिनी लायन्स प्लेअफमा पुगेको थियो । यस्तै पोखरा एभेन्जर्स प्लेअफ होडबाट बाहिरिइसकेको छ ।
सुदूरपश्चिम यसअघिका दुवै संस्करणमा उपविजेता बनेको थियो । सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।
एनपीएलमा आजको दोस्रो खेलमा बेलुकी ५ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दैछन् । चितवन ५ खेलमा ५ अंकसहित तालिकाको पाँचौँ र जनकपुर ६ खेलमा ४ अंकसहित छैटौँ स्थानमा छ ।




