मतदानका दिन सार्वजनिक बिदा

सुर्खेत: स्थानीय तहको निर्वाचनको दिन सार्वजनिक बिदा हुने छ । सार्वजनिक यातायात पनि चल्ने छैन । आयोगको बिहीवारको बैठकले स्वीकृत गरेको मापदण्डअनुसार अत्यावश्यक सेवासँगै उम्मेदवार वा उम्मेदवार निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन चलाउन पाउँछन् ।

सवारी साधन प्रयोग गर्ने अनुमति–पत्र आयोगले, मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृत तथा प्रमुख जिल्ला अधिकारीले तोकिएको ढाँचामा जारी गर्नेछन् । तर, काठमाडौंको हकमा निर्वाचन आयोगमा एकीकृत डेस्क खडा गरिने भएको छ । सवारी साधनको अनुमतिका लागि २८ वैशाखसम्ममा निवेदन दिइसक्नुपर्नेछ । तर, विदेशी नम्बर प्लेट भएको सवारी साधन प्रयोगको अनुमति पाउने छैनन् । एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सवारी साधनको हकमा सवारी अनुमति पत्र लिनुपर्ने छैन ।

मानवीय उद्धार तथा सहायतामा प्रयोग गरिने सवारी साधनका हकमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमति लिइ सवारी साधन प्रयोग गर्न सकिनेछ । अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुका हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म र विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमनको सहजीकरण हुनेछ ।