सुर्खेत । वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा खटिने सुर्खेतका ५ सय ८२ मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । दुई दिनसम्म चल्ने तालिममा मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतपेटिका राख्ने ठाउँ, रुजु गर्ने तथा मतदान केन्द्र निर्माण गर्ने तरिका, कर्मचारी आचारसंहितालगायतका विषयमा तालिम दिइएको थियो ।
जिल्लाका १ सय ३८ वटा मतदान स्थल अन्तर्गत २ सय ९१ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको हो । निर्वाचनमा खटिएर गइसकेपछि निष्पक्ष तरिकाले कसरी काम गर्ने वातावरण मिलाउने भन्ने विषयमा तालिम दिइएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताउनुभयो। नमुना मतदान अभ्यास पेटिकाअनुसार मतदान केन्द्रमा पुग्नुअघि र पुगिसकेपछि गर्नुपर्ने काम, मतदातालाई भोट हाल्ने तरिका, सुरुदेखि अन्तिमसम्म मतगणना, कस्ता व्यक्तिले भोट हाल्न पाउने–नपाउने, विषयमा तालिममा जानकारी गराइएको उहाँले जनाउनुभयो।
यता पूर्णरुपमा निष्पक्ष, धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नमा आफूहरु प्रतिबद्ध रहेको तालिमका सहभागीहरुले बताएका छन् । जिल्लाका २ लाख ३८ हजार ४ सय ५७ मतदाताका लागि १ सय ३८ वटा मतदान स्थल अन्तर्गत २ सय ९१ मतदान केन्द्र तोकिएको छ । सुर्खेतमा चार गाउँपालिका र पाँच वटा नगरपालिकाबाट कुल ५ सय १३ पदका लागि २ हजार ८४ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् ।
खबर बजार । २५ बैशाख २०७९, आईतवार १९:२६