आज १५ औं गणतन्त्र दिवस, कर्णालीमा प्रभातफेरि

सुर्खेत । आज देशभर १५ औं गणतन्त्र दिवस देशभरी नै मनाइदै छ । कर्णाली सरकारले पनि प्रदेशमा पनि विभिन्न कार्यक्रमहरू आयोजना गरी दिवस मनाएको छ । वीरेन्द्रनगरको मंगलगढीचोकबाट शुरु गरिएको प्रभातफेरि सभा हलमा पुगेरमा कार्यक्रमको आयोजना गरिएको हो ।

दिवसका अवसरमा प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री जीवन बहादुर शाहीले शुभकामना सन्देश दिनुभएको छ । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाद्वारा राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वधीनता अझ सुदृढ गर्दै संविधानले परिकल्पना गरेको समाजवदा उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न उर्जा मिलोस् भन्दै प्रदेश प्रमुख परियारले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

यस्तै, मुख्यमन्त्री शाहीले जनताको चुल्होको सरकार अर्थात स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हाल्नु संविधान कार्यान्वयनको ठूलो उपलब्धी भएको बताउनुभयो ।

उहाँले संविधानको संरक्षण र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर मुलुकलाइ आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्नका लागि गणतन्त्र दिवसले प्रेरणा मिलोस् भन्ने विश्वास व्यक्त गर्नुभयो ।

राजतन्त्रात्मक शासन प्रणालीको विधिवत् अन्त्यसँगै २०६५ साल जेठ १५ गते मुलुकमा गणतन्त्र स्थापना भएको थियो । सोही दिनलाइ दिवसका रूपमा मनाउन थालिएको हो ।