राउटे समुदायको मौलिक सीप हराउँदै

दैलेख । कर्णालीका जंगलमा फिरन्ते जीवन बिताउने राउटे लोपोन्मुख आदीबासीमा पर्छन् । राउटे समुदाय एकै ठाउँमा बस्दैनन् । उनीहरू जंगल, पहाडको खोंच तथा नदी किनारमा बसाइ सरिरहन्छन् । आफ्नै भाषा, संस्कृति र जीवनशैलीमा रमाएको राउटे समुदायमा विभेद छैन । राउटेमा कल्याल, रास्कोटी र सोमबंशी गरी तीन जाति छन् ।

काठका भाडाकुँडा र सामग्री बनाउनु राउटेको मुख्य सीप हो । जंगलमा काठका भाँडा बनाएर खाद्यान्नसँग साँटेर राउटेले आफ्नौ दैनिक जीवन गुर्जादै आएका छन् । हाल दैलेखको भगवतीमाई गाउँपालिका–४ मनघर चौरमा बसोबास गरिरहेका उनीहरूको काठका भाँडाकुडा बनाउने सीप र पेशा भने संकटमा पर्न थालेको छ । पहिले राष्ट्रिय वनमा निस्फिक्री राउटेले कु–काठ काट्न पाउँथे। काठका भाँडाकुडा बनाउँथे । तर, पछिल्लो समय राष्ट्रिय वन समुदायमा हस्तान्तरण भएपछि राउटेले काठ काट्न पाउँदैनन् ।