

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशले पहिलो जित निकालेको छ ।कीर्तिपुरस्थित टियु मैदानमा कर्णालीले मधेश प्रदेशलाई ३ रनले हराएको हो ।
कर्णालीले दिएको १ सय १५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मधेसले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो ।
मधेसका लागि हरिशंकर शाहले ४८ रन बनाए । रोहन विकले १० तथा राकेश कामतले अविजित १९ रन बनाए । अन्य ८ ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
कर्णालीका लागि दिनेश अधिकारीले ३ तथा दिवान पुन र रविन्द्र जंग शाहीले २र२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले २० ओभरमा अलआउट हुँदै १ सय १४ रन जोडेको थियो ।
उसका लागि विपिन रावलले २४ तथा प्रकनश जैशीले १९ रन बनाए । दिनेश अधिकारीले १५ तथा कप्तान रविन्द्र जंग शाहीले १० रन बनाए ।
मधेशका आदिल आलमले ५ तथा हरिशंकर शाहले २ विकेट लिए ।
यस जितसँगै कर्णालीले ४ खेलमा ५ अंक जोडेको छ । समूह ‘ए’ मा रहेको कर्णाली दोस्रो स्थानमा उक्लिएको छ ।
मधेशले ५ खेलमा ३ अंक जोडेको छ । मधेश चौंथो स्थानमा रहेको छ । र मधेस प्रतियोगिताबाट बाहिरिएको छ ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ ।

खबर बजार । २८ भाद्र २०७९, मंगलवार १६:५९