आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा पुग्ने चौंथो टिम पाकिस्तान

काठमाडौं । पाकिस्तान अस्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकपको सेमिफाइनल पुग्न सफल भएको छ। सुपर–१२ को आफ्नो अन्तिम खेलमा बङ्गलादेशलाई ५ विकेटले पराजित गर्दै पाकिस्तान अन्तिम चारमा पुगेको हो। समूह विजेता र उप–विजेताको टुंगो भारतले जिम्बावेसँग खेलेपछि लाग्ने छ।

समूह–२ मा ५ खेलबाट ६ अंक जोडेको पाकिस्तान समान अंक भएको भारतलाई नेट रन रेटमा पछाडि पारेर शीर्षस्थानमा छ। अर्को समूहबाट न्युजिल्यान्ड विजेता र इङ्गल्यान्ड उप–विजेताका रूपमा सेमिफाइनलमा पुगेका छन्।

आइतबार भएको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेपछि पाकिस्तान र बङ्गलादेश दुवैको सम्भावना देखिएको थियो।
टस जितेर ब्याटिङ थालेको बङ्गलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय २७ रन जोड्यो।

बङ्गलादेशका नाजमुल होसेन सान्तोले ५४, अफिफ होसेनले २४ र सौम्य सरकारले २० रन बनाए। सकिब अल हसनले खाता खोल्न सकेनन्। पाकिस्तानका साहिन शाह अफ्रिदीले चार र सदाब खानले दुई विकेट लिए। ह्यारिस रौफ र इफ्तिखर अहमदले एक एक विकेट हात पारे।

कुनै समय ७३ रन जोड्दा एक विकेट मात्र गुमाएको बङ्गलादेश सदाबले लगातार बलमा दुई विकेट लिएपछि एकाएक दबाबमा आएको थियो। पाकिस्तानले १८ ओभर १ बलमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। पाकिस्तानका मोहम्मद ह्यारिसले ३१ , मोहम्मद रिजवानले ३२ र बाबर आजमले २५ रन बनाए। शान मसुदले अविजित २४ रन बनाए ।