

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले राजस्थान रोयल्सलाई १ सय १२ रनको फराकिलो अन्तरले हराएको छ ।
बेङ्गलोरले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको राजस्थान १० ओभर ३ बलमा ५९ रनमै अलआउट भयो । राजस्थानका शिमरन हेटमायरले सर्वाधिक ३५ रन बनाए पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । राजस्थानका पाँच जना खेलाडीले एक रन पनि जोड्न सकेनन् । बलिङतर्फ बेङ्गलोरका वेन पार्नेलले ३ तथा माइकल ब्रेसवेल र करन शर्माले २/२ विकेट लिए ।
यसअघि जयपुरमा टस जितेर ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनायो । बेङ्गलोरका फाफ डु प्लेसिसले ५५, ग्लेन म्याक्सवेलले ५४ र अनुज रावतले नटआउट २९ रन बनाए । बलिङतर्फ राजस्थानका एडम जम्पा र केएम आसिफले २/२ विकेट लिए ।
यो जितसँगै बेङ्गलोर १२ खेलमा १२ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । बेङ्गलोरको प्लेअफ सम्भावना कायमै छ । १३ खेलमा १२ अङ्क भएको राजस्थान छैटौँ स्थानमा छ ।

खबर बजार । ३१ बैशाख २०८०, आईतवार १९:११