काठमाण्डौ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज आइतवार सार्वजनिक गरेको विवरणमा १० महिनामा नेपालले १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको मालवस्तु आयात गरेको छ ।
१० महिनाको अवधिमा नेपालले १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । विभागका अनुसार यस अवधिमा नेपालले एक खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ । यस अवधिका वस्तु आयात र निर्यात दुवै घटेको छ । आर्थिक वर्ष २०७८÷७९ को १० महिनाको अवधिमा नेपालले एक खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको थियो । गएको वर्षको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा वस्तु निर्यात २४ दशमलव ४९ प्रतिशतले घटेको छ ।
विभागका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा १६ खर्ब चार अर्ब ६५ करोड २५ लाख रुपैयाँ बराबरको आयात गरेकोमा चालु आर्थिक वर्षको १० महिनामा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको आयात भएको छ । कारोबारका आधारमा आर्थिक वर्ष २०७८÷७९ मा १७ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको व्यापार भएकोमा चालु आर्थिक वर्षको १० महिनामा १४ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँ बराबरको व्यापार भएको छ ।
खबर बजार । ७ जेष्ठ २०८०, आईतवार १९:११