काठमाण्डौ । भारतलाई हराउँदै अस्ट्रेलियाले दोस्रो संस्करणको विश्व टेस्ट च्याम्पियनशिपको उपाधि जितेको छ ।
बेलायतको ओभलमा भएको फाइनलमा भारतलाई २ सय ९ रनले हराउँदै अस्ट्रेलियाले उपाधि जितेको हो । फाइनल जित्न चार सय ४४ रनको विशाल लक्ष्य पछ्याएको भारत २ सय ३४ रनमा अलआउट भयो । भारतकालागि विराट कोहलीले ४९, अजिन्क्या रहाणेले ४६ र रोहित शर्माले ४३ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका नाथन लायनले ४, स्कट बोल्यान्ड ३ र मिचेल स्टार्कले २ विकेट लिए ।
यसअघि अस्ट्रेलियाले दुई सय ७० रनमा आठ विकेट गुमाएको अवस्थामा दोस्रो पारी समाप्तिको घोषणा गरेको थियो । पहिलो पारीमा अस्ट्रेलियाले चार सय ६९ र भारतले दुई सय ९६ रन बनाएको थियो ।
यो हारसँगै भारत फेरि उपविजेता भएको छ । यसअघि सन् २०२१ मा भएको पहिलो संस्करणको फाइनलमा भारत न्युजिल्यान्डसँग पराजित भएको थियो ।
खबर बजार । २८ जेष्ठ २०८०, आईतवार १७:४२