काठमाण्डौ । माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ निष्काशन भएको तेश्रो दिनसम्म माग भन्दा साढे ६ गुणा भन्दा बढी आवेदन परेको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का अनुसार मंगलबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा कम्पनीको आईपीओमा ६.५८ गुणा आवेदन परेको हो ।
कम्पनीको प्राथमिक शेयरमा ७ लाख २२ हजार १५९ आवेदकले ७९ लाख ३१ हजार कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् । उक्त आवेदनबाट एक अर्ब ६३ करोड ३७ लाख ८६ हजार रुपैयाँ सङ्कलन भएको छ। कम्पनीले १२ लाख पाँच हजार ३२० कित्ताको लागि आवेदन आह्वान गरेको थियो ।
माण्डु हाइड्रोपावरले आइतबार (भदौ १० गते)देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले पहिलो चरणमा जारी पूँजीको २ प्रतिशत अर्थात २ करोड ७२ लाख ७३ हजार रुपैयाँ बराबरको २ लाख ७२ हजार ७३० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र सर्वसाधारणका लागि निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात १ करोड ३६ लाख ३६ हजार ४०० रुपैयाँ बराबरको १ लाख ३६ हजार ३६४ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
अब दोस्रो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुमा बिक्री नभएको ७९ हजार ३० कित्ता सहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये कर्मचारीहरुका लागि २८ हजार ८५३ कित्ता र सामूहिक लगानी कोषका योजनाहरुका लागि ७२ हजार १३३ कित्ता शेयर बाँडफाँट गरिसकेको छ । सर्वसाधारण लगानीकर्ताले अब बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले निष्काशन गरेको आईपीओमा आवेदन दिने भोली अन्तिम दिन हो । सो आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २०६ रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
खबर बजार । १२ भाद्र २०८०, मंगलवार १९:०९