गएरातिको भूकम्पमा मृत्यु हुनेको संख्या १२८ पुग्यो

काठमाडौं । गएरातिको भूकम्पमा मृत्यु हुनेको संख्या १२८ जना पुगेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार जाजरकोटामा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार जाजरकोटको सदरमुकाम खलङ्गा , नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको छ ।

रुकुम पश्चिममा सानीभेरी गाउँपालिका, आठबिसकाेट नगरपालिकालगायतका ठाउँमा मृतकको संख्या बढी छ । घाइतेहरुको चौरजहारी अस्पताल, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

कतिपय ठाउँ सञ्चार सम्पर्क विच्छेद भएको, सडक भत्किएका कारण जान नसकिएको तथा दुर्गम र भौगोलिकरूपमा विकटताका कारण सुरक्षाकर्मी समयमा पुग्न नसकेकाले मानवीय तथा भौतिक क्षतिको संकलन भइरहेको छ ।

मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।