पक्राउ परे रिगल

काठमाडौं । योगराज ढकाल रिगल पक्राउ परेका छन् ।

सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो । आदेश लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको छ । अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको छ ।

आदेश लगत्तै खोजी थालेको प्रहरीले रिगललाई पक्राउ गरेको हो । रिगल संविधान दिवसको अवसरमा बाँकी कैद माफी पाएर ४ भदौमा छुटेका थिए ।

त्यसबेला घोराहीस्थित जिल्ला कारागारमा गाडीहरुको लाँवालस्कर लागेको थियो । कांग्रेसका कार्यकर्ताहरुले उनको पक्षमा नारा लगाउँदै स्कर्टिङमा उनलाई घर लगेका थिए ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको आरोपमा रिगल दोषि ठहर भएका थिए ।

उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।