भिजिट कर्णालीले कर्णाली एक्सपो अवधीभर पर्यटकीय स्थल घुमाउने

सुर्खेत । कर्णाली एक्सपो अवधीभर भिजिट कर्णाली यातायात प्रा.लि.ले पर्यटकीय क्षेत्र घुमाउने भएको छ ।
महोत्सव अवधिभर दैलेखको पञ्चकोशी तिर्थस्थल र सल्यानको कुपिण्डे दह घुमाउने गरी प्रा.लि.ले प्याकेज सार्वजनिक गरेको हो ।

पञ्चकोशी क्षेत्र घुम्नका लागि प्रा.लि.ले दुई ओटा प्याकेज बनाएको छ । पहिलो प्याकेजमा दैलेखको गुराँसहुँदै कोटीलाबाट पादुका घुमेर वीरेन्द्रनगर फर्केने रहेको छ ।

वीरेन्द्रनगरबाट विहान ९ बजे गुराँस पुग्ने र नास्तापछि भ्यूटार अवलोकलपछि डुंगेश्वरमा खाना खाने, चुप्राहुँदै कोटीला, शिरस्थान, नाविस्थानबाट दुल्लु पुगेर बस बस्ने र दोस्रोदिन धुलेश्वेरहुँदै पादुकाबाट तल्लोडुङ्गेश्वेरमा खाना खायर पुन: वीरेन्द्रनगर फर्कने गरी प्याकेज बनाएको प्रा.लि.ले बताएको छ ।

यो प्याकेज अन्तरगत ३६ हजार चारसय भाडादर कायम गरिएको छ । आठ जना यात्रु हुने स्करपियो गाडीमा प्रति व्यक्ति चार हजार पाँचसय पचास रुपैयाँ भाडा पर्नेछ ।

दोस्रो प्याकेज अन्तर्गत दैलेखको गुराँसे, चुप्राहुँदै काटीला, शिरस्थान, नाविस्थान, धुलेश्वर, पादुका र तल्लोडुंगेश्वर पुगेर सोही दिन सुर्खेत फर्किने तालिका बनाएको अध्यक्ष प्रकाश शाहीले बताउनुभयो ।
यो प्याकेज प्रा.लि.ले १९ हजार ७५० भाडादर कामय गरेको छ । आठ जना यात्रुका लागि प्रतिव्यक्ति २४७० रुपैयाँ भाडादर कायम गरिएको जनाइएको छ ।

यस्तै, सल्यानको कपिण्डे ताल घुमाउने प्याकेज अन्तरगत बिहान साढे ८ बजे सुर्खेतबाट यात्रा शुरु गर्ने र मेहलकुनामा खाना खाने तालिका बनाइएको छ ।