
काठमाडौं । लामो समय बन्द भएको विद्युतीय खरिद प्रणाली (ई–जीपी) सञ्चालनमा आएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचनामार्फत् रोकिएको विद्युतीय खरिद प्रणाली (ई–जीपी) नयाँ संस्करणमार्फत पुनः सञ्चालनमा ल्याइएको जानकारी दिएको हो ।
कार्यालयले सार्वजनिक निकायलाई निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका बोलपत्र ई–जीपी प्रणालीमार्फत प्रकाशन गर्न समेत निर्देशन दिएको छ ।
यसअघि सञ्चालनमा रहेको विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम भेटिएको भन्दै सरकारले गत भदौ ११ गतेदेखि अर्को सूचना नभएसम्मका लागि नयाँ सूचना प्रकाशनको काम रोकेको थियो ।
यो प्रणालीको विकल्पमा नयाँ सफ्टवेयर विकास गरी खरिद प्रक्रिया पुनः सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ ।
नयाँ प्रणाली कार्यान्वयनसँगै सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताले पुनः दर्ता गर्नुपर्ने व्यवस्था गरिएको समेत जनाएको छ । कार्यालयले सबै सार्वजनिक निकायलाई निर्माण कार्य र मालसामान खरिदका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बोलपत्र नयाँ प्रणालीबाट मात्रै प्रकाशन गर्न भनेको छ ।
बोलपत्र पेस गर्ने प्रक्रियामा भने अनलाइनसँगै हार्डकपीको विकल्पसमेत खुला राखिएको छ । सार्वजनिक निकायले बोलपत्रदाता तथा आपूर्तिकर्तालाई तोकिएको समयभित्र अनलाइन वा सम्बन्धित कार्यालयमै हार्डकपीमार्फत प्रस्ताव दाखिला गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेछ ।