
रुपन्देही । लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक वर्ष २०८३ /८४ को नीति कार्यक्रममाथि छलफल हुने भएको छ ।

बैठकमा सरकारको आगामी आव २०८३ /८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिने सम्भावित कार्यसूची रहेकाे प्रदेशसभा सचिवालयले जनाएकाे हाे । बैठकको शुरुमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ । त्यसपछि सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण गर्न बनेको विधेयक, २०८३’ सभामा पेश गर्नुहुने भएकाे हाे ।
त्यसैगरी प्रदेश प्रमुखद्वारा प्रस्तुत गरिएको लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३ /८४ को ‘वार्षिक नीति तथा कार्यक्रम’को एक प्रतिमुख्यमन्त्री चेतनारायण आचार्यले सभामा पेश गर्नुहुने कार्यसूची रहेको छ । प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरीले वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी सम्बोधनका लागि धन्यवाद ज्ञापन प्रस्ताव पेश गर्नुहुने भएकाे हाे । उक्त प्रस्तावलाई प्रदेशसभा सदस्य जमुना ढकालले समर्थन गर्नुहुनेछ । त्यसपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने जनाइएको छ ।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘वार्षिक नीति तथा कार्यक्रम’ माथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेश गर्नुहुने भएकाे हाे । प्रस्तावमाथि छलफलपश्चात् प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।




खबर बजार । १२ जेष्ठ २०८३, मंगलवार ०९:३२