बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह

सुर्खेत । बाढी पूर्वानुमान महाशाखाले सुर्खेत, दैलेख र अछामसहित आसपासका नदी तथा खोलामा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

केही दिनयता देशभर मनसुन सक्रिय भएकाले वर्षा हुने क्रम बढेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक/दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

सुर्खेत, दैलेख र अछाममा अहिले पानी परिरहेको छ । यी जिल्लामा थप वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक/दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रका नदी–नाला आसपास र पहिरोको जोखिम भएका स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै, भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक/दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको छ ।

ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।