साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी अन्तिम चरणमा

नेपाल र भारतसहित ४ टोली सहभागी

कास्की । कास्कीको पोखरामा हुने साफ यु-१९ महिला फुटबल च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।

पोखरा रङ्गशालास्थित फुटबल मैदानमा शनिबारबाट सुरु हुने प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश सहभागी हुनेछन् ।

प्रतियोगिताको पहिलो खेल शनिबार बंगलादेश र भुटानबीच हुनेछ । पहिलो दिन नै नेपाल र भारतबीच खेल हुनेछ ।

सिंगल राउन्डरोविनका आधारमा हुने च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टोलीले फाइनलमा खेल्नेछन् । साफका महासचिव पुरुषोत्तम कट्टेलले साफमा सहभागी हुने टिम पोखरा आइपुगेको जानकारी दिनुभयो ।

महिला साफमा सहभागी हुने टिमलाई पोखराको लामचौरस्थित घोस्ते खेल मैदानमा प्रशिक्षणको व्यवस्था मिलाइएको छ । माघ २४ गतेसम्म चल्ने च्याम्पियनसिप गर्न दुई करोड ४५ लाख लाग्ने अनुमान गरिएको छ ।