
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) ले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा बाग्मतीलाई पराजित गरेको छ । ओपनर आसिफ शेखको प्रेरणादायी शतकको मद्दतमा एपीएफले बाग्मतीलाई पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको सशस्त्रले ५० ओभरमा ८ विकेट गुमाएर २७१ रनको योगफल तयार गरेको थियो । प्रधानमन्त्री कपको यस संस्करणमा पहिलो शतक प्रहार गर्दै आसिफले सशस्त्रलाई बलियो स्थितिमा पुर्याउनुभएको थियो । उहाँ १०५ बलमा १४ चौका र ३ छक्कासहित ११४ रन बनाएर आउट हुनुभयो ।
ओपनर दीपक बोहरा र कप्तान रोहित पौडेल सस्तोमा आउट भएपछि आसिफले सन्दीप जोरासँग मिलेर सशस्त्रलाई अघि बढाउनुभएको थियोे ।
उनीहरुबीच शतकीय साझेदारी हुँदा सशस्त्र २ विकेट क्षतिमा १४६ रनको स्थितिमा पुगेको थियो । जोरा ५३ बलमा ५२ रन बनाएर आउट हुनुभयो । उहाँले ५ चौका र तीन छक्का प्रहार गर्नुभएको थियोे ।
त्यसपछि लोकेश बम र युवराज खत्रीले उपयोगी साझेदारी गर्दै टिमलाई सम्हाले । बमले ३६ बलमा २९ र खत्रीले ३९ बलमा २६ रन बनाए ।
बागमतीका रिजन ढकालले ४ विकेट लिनुभयो । इशान पाण्डेले दुई विकेट लिनुभयो भने सन्दीप लामिछाने र सोनु देवकोटाले १-१ विकेट बाँडे ।
जवाफी ब्याटिङमा बाग्मती २०० रनमा अलआउट हुँदै ७१ रनको फराकिलो हार स्वीकार्न बाध्य भयो । बाग्मतीका विवेक मगरले सर्वाधिक ३४ रन हान्नुभयो ।

१४७ रनमा ९ विकेट गुमाएको बाग्मतीका सुवास खत्री र रिजन ढकालले अन्तिम विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए । सशस्त्रका अभिषेक गौतम र रोहित पौडेलले ३-३ विकेट लिए ।




खबर बजार । ८ चैत्र २०८२, आईतवार १७:३१