गुराँस ८ मा पदभार ग्रहण प्रश्चात दिपेन्द्र वलीका यस्ता निर्णय

सुर्खेत । दैलेख जिल्ला गुराँस गाउँपालिका वडा ८ का वडाध्यक्ष दिपेन्द्र वलीले पदभार ग्रहण प्रश्चात केहि महत्त्वपूर्ण निर्णयहरु गरि कार्यनयन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएकाे छ । वडाध्यक्ष दिपेन्द्र वलीले पदभार ग्रहण गरेको पहिलो दिनमै दीर्घ स्वास्थ्य समस्या भएकाहरू, ज्येष्ठ नागरिकहरू तथा अन्य सामान्य स्वास्थ्य समस्या भएका नागरिकहरुको स्वास्थ्य अवस्थाको नियमित चेकजाँच गर्न र आवश्यक निस्शुल्क औषधी प्रदान गर्न वडाबाट स्वास्थ्यकर्मीलाई प्रति महिना निश्चित समय तोकी घरभेटमा पठाउने व्यवस्था गर्ने निर्णय गर्नुभएकाे छ । 

त्यसैगरी अध्यक्ष वलीले लोकसेवा आयोग, शिक्षक सेवा आयोगसहित अन्य सरकारी सेवा प्रवेशका निम्ति गरिएका परीक्षाअन्तर्गत प्रथम चरण उतिर्ण गरेका युवाको लागि बाँकी तयारी कक्षामा सहयोग पुर्‍याउन आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी सहयोग उपलब्ध गराउने निर्णय गर्नुभएकाे छ । यसका साथै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालयलगायतका निकायसँग समन्वय गरी वडा ८ का मुख्य सडकका किनारहरूमा सरकारी स्वामित्वमा उत्पादन र आयमुलक विरुवाको वृक्षारोपण गर्ने प्रतिबद्धता सहितको बोल्ड निर्णय समेत गर्नुभएकाे छ ।

वडामा उत्पादित कृषि उपजको बजारीकरण र उचित मूल्य निर्धारण गर्न तथा कृषकलाई सुपथ मूल्यमा वीउविजन प्रदान गर्न सरकारी स्वामित्व रहनेगरी संकलन तथा वितरण केन्द्र स्थापनाको लागि कानूनी व्यवस्था गर्न गाउँसभामा जनप्रतिनिधिको हैसियतले पहल गर्ने निर्णय निर्णय समेत गर्नुभएकाे छ । सञ्चार क्षेत्रबाट उदाएका दिपेन्द्र वली (बबने) कर्णालीका लोकप्रिय संचारक्रमिका रूपमा परिचीत युवा हुनुहुन्थ्याे । बबनेलाई नेकपा एमालेले गुराँस गाउँपालिका वडा न ८ बाट वडाध्यक्षको टिकट दिएको थियो । स्थानीय तहको निर्वाचनमा बबनेले गुराँस ८ बाट लोकप्रिय मत प्राप्त गरि वडाध्यक्षमा निर्वचित हुनुभएकाे थियाे ।