

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिनु भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ८ (सभामुखसहित) र एक स्वतन्त्र (दीपक मनाङे) गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्री बन्नु भएको हो । कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ ।
नेपाली कांग्रेसले भने सभामुखसहितको हस्ताक्षरमा बहुमत जुटाइएको भन्दै मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध अदालत जाने तयारीमा छ ।
मुख्यमन्त्री अधिकारीसहित नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान र राजीव गुरुङ (दीपक मनाङे) ले पनि शपथ लिनु भएको छ । चुमान र गुरुङले विनाविभागीय मन्त्रीको शपथ लिनु भएको हो । यसअघि नेकपा एस छाडेको घोषणासहित सुरेन्द्र पाण्डे नेतृत्वमा मन्त्री बन्नु भएका मनाङे अधिकारीलाई समर्थन जनाउँदै आज फेरि मन्त्री बन्नु भएको छ ।

खबर बजार । २५ चैत्र २०८०, आईतवार १६:०८