कर्णाली सरकारले पायो पूर्णता, ४ जना मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि मंगलबार ६ जना मन्त्रीलाई नियुक्त गर्दै मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिनु भएको हो ।

चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएका कँडेलले सत्ता गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्रबीच लामो समयको रस्साकस्सीपछि मंगलबार माओवादी र एमालेका तीन÷तीन जना मन्त्री नियुक्त गर्नु भयो ।

माओवादीका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा दुर्गाबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रनसिंह परियार नियुक्त हुनु भएको छ ।

त्यस्तै एमाले तर्फबाट भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह नियुक्त हुनु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैंले राख्नु भएको छ ।

मुख्यमन्त्री कँडेलले १२ वैशाखमा सत्ता साझेदार दल माओवादी केन्द्रका सांसद रनसिंह परियारलाई विनाविभागीय मन्त्रीमा नियुक्त गनु भएको थियो ।