काठमाडौं । नेपालका वित्तीय क्षेत्रमा वेबसाइटसम्बन्धी गम्भीर सुरक्षा जोखिम देखिन थालेको छ । वेब प्रविधि अर्थात् ‘पीएचपी’मा सुरक्षा जोखिम देखिन थालेको हो ।
वेबसाइटसम्बन्धी गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले सुरक्षा सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।
बैंकले आज अत्यन्त जरुरी सूचना निकालेर वेब प्रविधि अर्थात् ‘पीएचपी’मा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राखेर आफ्नो वेबसाइटलगायतका सेवाहरू पनि अस्थायी रूपमा बन्द गरेको जनाएको छ ।
राष्ट्र बैंकले यस अवधिमा बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकका आधिकारिक सामाजिक सञ्जाल प्रयोग गर्न अनुरोध गरेको छ ।
त्यसैगरी, साइबर सुरक्षामा विशेष ध्यान दिन, आवश्यक सुरक्षा सतर्कता अपनाउन, प्रयोगमा रहेका प्रणालीलाई सुरक्षित बनाउन र नियमित सुरक्षा निगरानी बढाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।




खबर बजार । ७ कार्तिक २०८३, शुक्रबार ०९:५४