धनगढीमा ८ राउन्ड हवाई फायर


धनगढी । धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले हिजो रातिदेखि लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो ।

स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले अहिलेसम्म विभिन्न स्थानमा ८ राउन्ड हवाई फायर गरेको छ । हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन् ।

बिहीबार धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको ग्रेडरले किचेर मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भइरहेका छन् । हिजो बिहान १० बजे कक्षा ८ मा अध्ययनरत साउँदको सडक निर्माणका क्रममा ग्रेडरले किचेर मृत्यु भएको थियो ।

घटनाले उग्र रूप लिएपछि बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा बीचमै अहिले पनि धनगढीका केही स्थानमा प्रहरी प्रशासनविरूद्ध विद्यार्थीहरू नाराबाजीमा उत्रिएका छन् । प्रदर्शनमा सहभागी दर्जनौं विद्यार्थीलाई प्रहरीले पक्राउसमेत गरेको छ ।

विद्यार्थीले घटनाको क्षतिपूर्तिसहित चालकलाई कारबाहीको माग गरिरहेका छन् । अहिले कैलाली प्रहरीको कार्यालयमा छलफल जारी छ । प्रहरीले आन्दोलन रोक्न आग्रह गरिरहेको छ ।