f अरू र्‍यापमा रमाउँछन्, रोसा साधना र भजनमा 

अरू र्‍यापमा रमाउँछन्, रोसा साधना र भजनमा 

झापा । आजको आधुनिक भनिने नवयुवा पुस्ता पप, रक र र्‍याप संगीतमा रमाइरहेका तपाइँले पक्कै देखिरहनुभएको छ । नवयुवाले रुचाउने त्यस्ता संगीत कतिपयलाई मन पर्ने र कसैलाई मन नपर्ने पनि हुन्छ । ठीक त्यसैगरी गायक-गायिकाको हकमा समेत यस्तै मूल्याङ्कन हुनु स्वभाविक छ ।

तर, झापाकी १९ वर्षीया रोसा फुयालको आवाज पछिल्लो समय धेरै भन्दा धेरैले मन पराइरहेका छन् । सामाजिक सञ्जालमा समेत उहाँ धेरै चर्चित हुनुहुन्छ । किनभने शास्त्रीय संगीतको साधना र भजन गायनमार्फत उहाँ बेग्लै पहिचान बनाउन सफल हुनुभएको छ ।

सुमधुर स्वर, अनुहारमा सधैँ झल्कने मन्द मुस्कान र भक्तिभावले भरिएको उहाँको गायकीले यतिबेला सामाजिक सञ्जाल तथा नेपाली संगीत पारखीहरूमाझ छुट्टै तरङ्ग ल्याएको छ ।

रोसाको संगीत यात्रा घरबाटै सुरु भएको हो । परिवारमा धार्मिक तथा सांगीतिक माहोल हुनुका साथै उहाँका दाजु रोशन फुयाल तबला बजाउने गर्नुहुन्थ्यो । दाजुले तबला र गायनको अभ्यास गरेको सुन्दासुन्दै आफूमा पनि संगीतप्रति गहिरो अभिरुचि जागेको रोसाको भनाइ छ । छोरीको प्रतिभा देखेपछि आमाबुबाले पनि उहाँलाई सानैदेखि संगीत कक्षाहरूमा भर्ना गराएर निरन्तर प्रोत्साहन दिइरहनुभयो ।

रोसाको प्रतिभाले पहिलो ठूलो मञ्च ‘सा रे ग म प लिटल च्याम्प्स (सिजन १)’ मा पाएको थियो । गुरु शरद वत्सको प्रेरणाबाट अडिसन दिनुभएकोमा उत्कृष्ट प्रदर्शन गर्दै उक्त गायन रियालिटी शोको ‘फस्ट रनरअप’ बन्न सफल हुनुभयो ।

त्यसपछि अध्ययन र संगीत दुवैलाई अघि बढाउने क्रममा कक्षा ९ र १० मा केही समय संगीतबाट विश्राम लिनुपरे पनि उहाँले आफ्नो लक्ष्य छाड्नुभएन । झापाबाट काठमाडौँ पुगेर उहाँले औपचारिक संगीत शिक्षालाई निरन्तरता दिनुभयो । हाल उहाँ ललितकला क्याम्पसमा संगीत विषय लिएर स्नातक दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ भने गुरु श्री केसीसँग शास्त्रीय संगीतको गहिरो साधना गरिरहनुभएको छ ।

काठमाडौँको श्रीरामचन्द्र मन्दिरमा नियमित सन्ध्या आरती र भजन गाउन थालेपछि रोसाको स्वरले धेरै भक्तजन तथा संगीतप्रेमीहरूको ध्यान तान्यो ।

उहाँको गायकीलाई नेपालमा मात्र नभई विश्वभर छरिएर रहेका सनातनी धर्मावलम्बीहरूले अत्यधिक मन पराएका छन् । विशेषगरी छिमेकी मुलुक भारतबाट इन्स्टाग्राममा उहाँले लाखौँ सकारात्मक प्रतिक्रिया र आशिर्वाद पाइरहनुभएको छ ।

रोसाका अनुसार भजन गाउँदा उहाँलाई केवल दर्शकको ताली मात्र होइन, भित्री शान्ति, आनन्द र भगवान्सँगको प्रत्यक्ष सामीप्यता महसुस हुन्छ । उहाँका दाजु रोशन फुयालले तबलामा साथ दिँदै उहाँलाई हरेक पाइलामा अभिभावकको रूपमा मार्गदर्शन गरिरहनुभएको छ । हाल उनीहरूले ‘भक्ति सुधा’ ब्यान्डमार्फत युवा पुस्तामाझ भजन तथा आध्यात्मिक संगीतलाई प्रवर्द्धन गर्ने अभियान नै चलाएका छन् ।

कम उमेरमै निष्ठा, अनुशासन र कलाप्रतिको समर्पणले गर्दा रोसा फुयाल नयाँ पुस्ताका नवप्रतिभाहरूका लागि एउटा प्रेरणाको स्रोत बन्न पुग्नुभएको छ ।