दैलेख । कर्णाली प्रदेशका स्थानीय तहमध्ये पहिलो पटक दैलेखको गुराँस गाउँपालिकाले गुनासो व्यवस्थापन प्रणाली “नमस्ते गुराँस” शुरु गरेको छ । गुराँस गाउँपालिका सरकार र संस्थागत सुधार मार्फत् न्यायमा पहुँच अभिवृद्धि परियोजनाले संयुक्त रुपमा गुनासो व्यवस्थापन प्रणाली शुरु गरेका हुन् ।
संघीय सरकारमा “हेलो सरकार” र प्रदेश सरकारहरूमा “हेलो मुख्यमन्त्री”, “हाम्रा कुरा हाम्रा मुख्यमन्त्री” जस्ता नामबाट सञ्चालनमा रहेको गुनासो व्यवस्थापन प्रणाली स्थानीय तहतर्फ देशभरको तेस्रो र कर्णालीको पहिलो पालिकाको रुपमा गुराँसमा सञ्चालन भएको गुराँस गाउँपालिका सरकारका प्रवक्ता दीपेन्द्र ओलीले बताउनुभयो ।
यसअघि कैलालीको धनगढी उपमहानगर पालिका र पाल्पाको रामपुर नगरपालिकामा गुनासो व्यवस्थापन प्रणाली सञ्चालनमा छन् ।
आम नागरिकका गुनासो सफ्टवयरमार्फत् ग्रहण गर्ने र सो को व्यवस्थापन गर्नेगरी “नमस्ते गुराँस” शुरु भएको हो । सो कार्यक्रमअन्तर्गत नागरिकले व्यक्त गरेको गुनासोलाई सम्बन्धित समिति र शाखा जिम्मेवार रहने गाउँपालिका सरकारका अध्यक्ष टोपबहादुर बिसीले जानकारी दिनुभयो ।
सार्वजनिक निकायले वितरण गर्ने सेवा सुविधामा भेदभाव भएको वा वञ्चित गरिएको, सार्वजनिक निकायहरूबाट प्रदान गरिने सेवा सुविधा प्राप्त गर्न अवरोध वा बाधा पुगेको र सार्वजनिक निकायको गैर कानुनी क्रियाकलापबाट कुनै पनि संस्था वा व्यक्तिलाई हानी–नोक्सानी भएका जस्ता सवालहरू, जनताका गुनासा र सुझावहरूको उचित सुनुवाइद्वारा शासकीय व्यवस्थामा सुधार गरी नागरिकमुखी प्रशासन व्यवस्था प्रवर्द्धन गर्न “नमस्ते गुराँस” शुरु भएको हो ।
घटना÷दुर्घटनाको बारेमा जानकारी दिन, उद्धारको लागि सहायता माग गर्न, लैङ्गिक हिंसाको घटनाको बारेमा सूचना दिन, सार्वजनिक सेवाको विषयमा गुनासा वा सुझाव दर्ता गराउन र सार्वजनिक सेवा प्रवाहमा देखिएका विकृति, विसङ्गति र अनियमितताका बारेमा उजुरी दिन सकिने व्यवस्था गरिएको छ । स्थानीय तहमात्रै नभई संघीय र प्रदेश सरकार मातहतका कार्यालयसँग सम्बन्धित सुझाव र गुनासो समेत “नमस्ते गुराँस” बाट गर्न सकिन्छ ।
फोन, मोबाइल, वेवसाइट, सामाजिक सञ्जाल, इमेल र आफैँ उपस्थित भएर समेत गुनासो, सुझाव तथा उजुरी दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ । जसमा अडियो, भिडियो, फोटो, फाइललगायतलाई प्रमाणको रुपमा रहने छन् भने उजुरीकर्ताले चाहेमा परिचय गोप्य राख्न सकिने छ ।
खबर बजार । १८ भाद्र २०८१, मंगलवार ११:४१