दैलेख । नेपाल कम्युनिष्ट पार्टी (एमाले), दैलेखको स्कुल विभागले एक सय तीन जना नेता-कार्यकर्तालाई पार्टीको माध्यमिक तहको कक्षा दिएको छ ।
पार्टी केन्द्रीय स्कुल विभागले तयार गरेको पाठ्यक्रमको आधारमा कात्तिक २१ गतेदेखि तीन दिन जिल्ला कमिटी पदाधिकारी र सदस्य तथा स्थानीय तह कमिटी अध्यक्षलाई प्रशिक्षण गरिएको हो ।
केन्द्रीय स्कुल विभाग र कर्णाली प्रदेश स्कुल विभागको संयोजनमा भएको प्रशिक्षणबाट दीक्षित भएका नेता-कार्यकर्ता अब तल्लो तहका कमिटीको लागि प्रशिक्षक बनेका छन् ।
अब आफूहरू स्थानीय तह, वडा र टोल सम्म प्रशिक्षणमा जाने जिल्ला कमिटी सदस्य दीपेन्द्र ओलीले बताउनुभयो ।
एमाले प्रदेश कमिटी उपसचिव रविन्द्रराज शर्माले पार्टीले तीन तहको पाठ्यक्रम तयार गरेको र अहिले माध्यमिक तह अध्ययन गरेकाहरूले आधारभूत तहको प्रशिक्षण दिन सक्ने बताउनुभएको छ ।
प्रशिक्षण कार्यक्रमको समापनमा पार्टी जिल्ला अध्यक्ष एवं जिल्ला स्कुल विभाग प्रमुख सूर्यबहादुर शाहीले आगामी कार्ययोजना समेत सार्वजनिक गर्नुभएको छ ।
प्रशिक्षणमा पार्टी उपमहासचिव एवं केन्द्रीय स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली, पोलिटव्यूरो सदस्य ईश्वरी रिजाल र लक्ष्मीप्रसाद पोखरेल, केन्द्रीय स्कुल विभाग सचिव घनश्याम कोइराला, केन्द्रीय सदस्य एवं केन्द्रीय स्कुल विभाग सदस्यहरू सुन्दर लामिछाने, राजबहादुर बुढा र गेहेन्द्रप्रसाद दाहाललगायतले विभिन्न विषयवस्तुमा कक्षा सञ्चालन गर्नुभएको छ ।
अन्य राजनीतिक पार्टीको तुलनामा सबैभन्दा सु-व्यवस्थित र बलियो संगठनको बलमा स्थापित पार्टी एमालेले पुन: वैचारिक र समसामयिक विषयमा कार्यकर्तामा प्रशिक्षण दिन थालेपछि थप उत्साह थपिएको एमालेका नेता-कार्यकर्ताहरूले बताएका छन् ।
खबर बजार । २३ कार्तिक २०८१, शुक्रबार २३:१६