एमयूमा सुरु भयो स्ववियु निर्वाचनको मतदान

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

आन्तरिक तयारीमा ढिलाइ हुँदा मतदान तोकियको समयभन्दा ढेर घण्टा ढिला भएको हो ।

६ वर्ष पछि हुन लागेको एमयुको स्ववियु निर्वाचमा विद्यार्थीहरु उत्साहका साथ मतदानमा सहभागी भएका छन् । यसअघि पटक–पटक निर्वाचन मिति तय हुँदा पनि उच्च अदालतमा रिट दायर भएपछि स्ववियु निर्वाचन स्थगित हुँदै आएको थियो ।

चार हजार ३८३ मतदाता रहेको विश्वविद्यालयमा १९ सदस्यीय कार्यसमिति चयन हुनेछ । निर्वाचनबाट अध्यक्ष, सचिव र कोषाध्यक्षसहित १० जना प्रत्यक्ष र ९ जना समानुपातिक मतबाट गरी १९ जनाको कार्यसमिति चयन हुनेछ ।

स्ववियु अध्यक्षमा यसपटक सात भ्रातृ सङ्गठन र एक स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृत खगेन्द्र अधिकारीका अनुसार नेविसंघबाट विवेक खड्का, अनेरास्ववियुबाट जगतजंग शाही, अखिल (क्रान्तिकारी)बाट प्रकाश विक, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनबाट विकल्प वली, अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) चीनबहादुर सहकारी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (हैठी)बाट लेलिनकुमार रेग्मी, स्वतन्त्र उम्मेदवार मिलन बिसी र नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार उम्मेदवार छन् ।