सरकारको स्पष्टीकरण : हिंसात्मक गतिविधिमा संलग्नलाई मुलधारको राजनीतिमा ल्याउनका लागि अध्यादेश


काठमाडौं । सरकारले हिंसात्मक गतिविधिमा संलग्नलाई माफी दिएर मुलधारको शान्तिपूर्ण राजनीतिमा ल्याउनका लागि सरकारले मुलुकी फौजदारी संहिता संशोधन गर्न लागेको स्पष्ट पारेको छ ।

यो अध्यादेश जारी भएपछि जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलगायतलाई माफी दिएर जेलबाट छुटाईने छ ।

मंसिर २५ गतेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर मुलुकमा योगदान गर्न चाहने सबैलाई अवसर दिनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको मन्त्री कार्कीले बताउनु भयो ।

‘मुलुकलाई अहिले शान्ति चाहिएको छ, एकता चाहिएको छ, विकास र समृद्धि चाहिएको छ, त्यसका निमित्त सबैको योगदान रहोस भन्ने उद्देश्यका साथ यो अध्यादेश सिफारिस भएको हो ।’ मन्त्री कार्कीले भन्नु भयो ।

मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई मुलधारमा ल्याउने उद्देश्य सरकारको रहेको उहांले बताउनु भयो । विगतका सरकारले पनि यसरी माफी दिने गरेको भन्दै उहांले सरकारको निर्णयको बचाउ पनि गर्नु भएको छ ।

रेशम चौधरीलगायतलाई जेलबाट छुटाउनका लागि मुलुकी फौजदारी संहिता संशोधन गर्न अध्यादेश ल्याएको भन्दै सरकारको विरोध भइरहेको छ ।