देशैभर एमालेको जागरणसभा

दैलेख । पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्रमाथि भइरहेको प्रहारका बारेमा आमजनतालाई सचेत गराउने उद्देश्यले नेकपा (एमाले)ले आज देशैभर जागरणसभा गरेको छ ।

मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्न जनसचेतना अभियानअन्तर्गत एमालेले आज काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरणसभा गरेको हो ।

एमालेले आज (चैत १८ गते) ७० वटा जिल्लामा जिल्लास्तरीय जागरणसभा आयोजना गरको छ भने चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका छ वटै प्रदेशका शहरहरू–धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने बताइएको छ ।

यसै कार्यक्रम अन्तरगत आज नेकपा एमाले जिल्ला कमिटी दैलेखले पनि जागरणसभा गरेको छ । जिल्ला कमिटी दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीको अध्यक्षतामा दैलेखमा भएको जनसभामा एमाले पोलिटव्यूरो सदस्य लक्ष्मीप्रसाद पोखरेल, केन्द्रीय सदस्यहरू राजबहादुर बुढा, मिनासिं रखाल, केन्द्रीय विभागका सदस्यहरू, प्रदेश कमिटी उपसचिव रविन्द्रराज शर्मा र प्रदेश कमिटी सदस्यहरूलगायतले भनाई व्यक्त गरेकाे प्रचार तथा प्रकाशन विभाग प्रमुख दीपेन्द्र वलीले जानकारी दीनुभयो ।

जनसचेतना कार्यक्रमअन्तर्गत एमालेले गत चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।

गत चैत ६ गते महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान निर्देशन दिनु भएको थियो ।