कर्णालीका लागि भदौ ४ सधैँभरि सम्झिने दिन होः मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीवासीले सधैँभरि सम्झिने दिनको रुपमा भदौ चार गतेलाई लिएको बताउनु भएको छ ।
आज सुर्खेत उद्योग वाणिज्य सङ्घको आयोजनामा कर्णाली प्रदेश स्थापना दिवसको अवसर पारेर आयोजना गरेको वृहत सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले यस्तो बताउनु भएको हो । उहाँले सरकारले प्रदेश स्थापना दिवस चार गते भएको भएपनि आज, भोलि र पर्सि विविध कार्यक्रम गरि यसलाई उत्सवका रुपमा मनाउने निर्णय गरेको बताउनु भयो ।

उहाँले सरसफाइ महत्वपूर्ण भएको बताउँदै यसका लागि आवश्यक जनचेतना जगाउने काममा सबैको सहभागिता हुनुपर्नेमा जोड दिनु भयो । ‘आफ्नो घर अगाडिको घर आँगन सफा राखेमा बाहिरबाट आउनेहरू पनि खुशी हुन्छन्, हामीलाई फोहोरका कारण लाग्नसक्ने रोग पनि लाग्दैन ।’ उहाँले भन्नुभयो, ‘घर भित्रको फोहोर सडकमा थुपार्ने काम राम्रो होइन्, सबैले फोहोरलाई व्यवस्थित रुपमा सङ्कलन गर्ने र फोहोर फाल्ने स्थानमा मात्रै फाल्ने कार्यमा लाग्न जरुरी छ ।’ उहाँले शहर स्वस्थ राख्न सके वातावरण स्वस्थ हुने र त्यसले मानवजीवनलाई स्वस्थ राख्ने बताउनु भयो । सरसफाइ कार्यक्रममा सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, उद्योग वाणिज्य सङ्घ सुर्खेतको अध्यक्षमा हर्ष विक्रम खड्का लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।