
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर आगामी शनिबार प्रधानमन्त्री ओली चीन जाने उल्लेख गरेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली बुधबारसम्म चीनमा रहनु हुने छ । त्यहाँ उहाँ सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनुहुने छ ।
एससीओ सम्मेलन १५ र १६ भदौमा उत्तरी चीनको तियान्जिनमा आयोजना हुँदैछ । त्यसको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्नुहुने छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य मुलुकका सरकार तथा राष्ट्रप्रमुख समेत उपस्थित हुने कार्यक्रम तय भएको छ ।
मन्त्रालयका अनुसार, त्यसक्रममा ओलीले चिनियाँ राष्ट्रपति सीसँग अलग्गै भेटवार्ता समेत गर्नुहुने छ भने १७ भदौमा उहााले तिआन्जिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन समेत गर्नुहुने छ ।
त्यसक्रममा उहाँले विभिन्न मुलुकका नेताहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ । सोही क्रममा उहाँले चीनका उपराष्ट्रपति हान झेङसँग समेत भेटवार्ता गर्नुहुने छ ।
त्यसक्रममा प्रधानमन्त्री ओली जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध र विश्वव्यापी फासिवाद विरोधी युद्धमा विजय प्राप्तिको ८० औं वार्षिकोत्सव कार्यक्रममा समेत सहभागी हुनुहुने छ ।
चीनबाट फर्किएलगत्तै प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने तयारी छ ।




खबर बजार । ११ भाद्र २०८२, बुधबार १८:३१