माओवादी केन्द्रमा पदाधिकारीको आकांक्षी धेरै हुँदा बैठक सरेको सर्‍यै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा आन्तरिक गुटबन्दीको कारण पदाधिकारी चयन गर्न समस्या भएको छ ।

महाधिवेशनबाट अध्यक्षमा पुष्पकमल दाहाल (प्रचण्ड)लाई चयन गरे पनि पदाधिकारीविहिन केन्द्रीय समिति घोषणा गरेको माओवादी केन्द्रले केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्ने निर्णय गरेको थियो ।

तर महाधिवेशन सम्पन्न भएको २ महिना पुग्नै लाग्दा समेत पदाधिकारीको टुङ्गो लगाउन नसकेको हो । मुख्यतः महासचिवका दावेदार बर्षमान पुन (अनन्त) उपचारका लागि चीनमा रहेका कारण माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको थिएन ।

फाइल तस्वीर

हाल माओवादी केन्द्रले आन्तरिक दबाव र सार्वजनिक आलोचना चिर्नकै लागि भए पनि महाधिवेशन सम्पन्न गरेको झन्डै दुई महिना पछि पदाधिकारी चयन गर्न गृहकार्य सुरु गरेको छ ।

महासचिवमा पुनसँगै जनार्दन शर्मा (प्रभाकर) बीच रस्साकस्सी हुँदा हाल प्रचण्डलाई समस्या भएको छ । कतिपय नेताहरुले दुबैतर्फबाट दबाव भइरहेकाले पनि प्रचण्डले केन्द्रीय समिति बैठक बोलाउन नसकेको बताउने गरेका छन् ।

माओवादी केन्द्रले माघ २७ गतेदेखि भनेर बोलाएको केन्द्रीय समिति बैठक फागुन ८ र ९ गते बोलाएकोमा फेरी त्यसलाई स्थगत गरेको छ । अव उसले फागुन २० गते केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ ।

प्रचण्डको स्वकीय सचिव गंगा दाहालले वर्तमान राजनीतिक उतारचढाव र नेतृत्वको कार्यव्यस्तताको कारण बैठक स्थगन गरिएको जानकारी सार्वजनिक गरे पनि आकांक्षीको दबावकै कारण पटक पटक बैठक सार्ने गरिएको बुझिएको छ ।

उसो त माओवादी केन्द्रका अधिकांश जनवर्गीय संगठनका सम्मेलन र महाधिवेशनसमेत प्रचण्डले संयोजक/अध्यक्ष मात्रै तोक्ने तर पदाधिकारी चयन नगरी सम्पन्न भएका छन् । गत पुस ११–१९ मा सम्पन्न महाधिवेशनले २ सय ९९ मध्ये अध्यक्षमा प्रचण्डससहित २ सय ३६ केन्द्रीय सदस्य चयन भए पनि पदाधिकारी चयन भएका छैनन् ।

माओवादीले गत महाधिवेशनवाट पारित गरेको विधान अनुसार वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, महासचिव, २ उपमहासचिव र बाँकी सचिव रहने गरी १५ सदस्यीय पदाधिकारी बनाउने छ । अब बस्ने बैठकले स्थायी समिति, पोलिटब्यूरो र बाँकी रहेका खाली कोटामा केन्द्रीय सदस्य रहने गरी गृहकार्य गरेको हरिबोल गजुरेलले बताउनुभएको छ ।