पल शाहको मुद्दाको उच्च अदालत पोखरामा सुनुवाइ हुंदै

काठमाडौं । अभिनेता पल शाहको मुद्दाको उच्च अदालत पोखरामा सुनुवाइ भइरहेको छ । बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै नवलपुर जिल्ला अदालतले शाहलाई साढे दुई वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा अहिले पलका वकिलहरुले बहस गरिरहेका छन् । सुनुवाइपछि आजै साँझसम्म आदेश आउन सक्ने सम्भावना रहेको छ ।

एक नाबालिकामाथि जबर्जस्ती करणीको मुद्दामा नवलपुर अदालतले सफाइ दिएपनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष जेल सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । यही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिएको थियो ।

नवलपुर अदालतको फैसलाअनुसार अहिले शाह तनहुँ कारागारमा जेल सजाय बिताइरहेका छन् ।

नाबालिकालाई बलात्कार गरेको आरोपमा गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँ र नवपरासी पूर्व (नवलपुर)मा पलविरुद्ध उजुरी परेको थियो । त्यसपछि फरार रहेका शाहले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।