ओली-देउवा भेट: अडान प्रस्तुत गर्नमै सिमित

ओलीको जवाफले देउवा चुपचाप

काठमाडौं । प्रमुख प्रतिपक्षी तथा संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले सत्तारुढ दल नेपाली कांग्रेसबीच भएको वार्ता एकअर्काका अडान प्रस्तुत गर्नमै सिमित भएको छ ।

करिब दुई घण्टा लामो वार्तामा ठोस सहमति नभई नेताहरु आ- आफ्ना अडान राखेर छुटेका हुन् ।

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पारित गर्न एमालेको सहयोग मागेको थियोे ।

जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाएपछि मात्र एमसीसी लगायतका विषयमा छलफल हुने बताउनुभएको एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो ।

एमालेले एमसीसीमा एमालेलाई प्रयोग गर्ने र हानिकारक गठबन्धन कायमै राखेर एमालेमाथि प्रहार गर्ने दोहोरो नीति नलिन प्रधानमन्त्रीलाई प्रष्ट रुपमा भनेको उहाँको भनाई छ ।

सभामुखका कारण एमालेले संसदको कारवाहीमा भाग लिन नपाएको भन्दै पहिले एमालले राख्दै आएका विषयलाई सम्बोधन गर्न आग्रह गरेको बताउनुभयो ।

एमालेले माओवादीको नीति एमसीसीको विपक्षमा मतदान गर्ने तर गठबन्धन नछाड्ने देखिएकाले त्यसमा प्रष्ट हुन भनेको कांग्रेस नेताहरुले बताएका छन् ।

वार्तामा एमालेबाट अध्यक्ष ओलीसहित बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल र उपमहासचिव बिष्णु रिमाल सहभागी थिए भने, कांग्रेसबाट सभापति तथा प्रधानमन्त्री देउवासहित उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्की सहभागी थिए ।