काँग्रेस क्रियाशील सदस्यता अद्यावधिक: ५ लाख ३८ हजारले प्राप्त गरे एसीआईडी

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको समयसीमा भित्र ५ लाख ३८ हजार ६ सय २२ जनाले एसीआईडी प्राप्त गरेका छन् ।

यसबाहेक १ लाख ४९ हजार ३ सय ९ जनाले स्वयं अद्यावधिक फाराम पेस गरी अद्यावधिक प्रक्रियामा रहेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

गएराति १२ बजेसम्म सदस्यता अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको थियो । कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यहरूमध्ये तोकिएको समयमा अद्यावधिक गरेका र प्रक्रियामा सामेल भएकोको कुल संख्या भने ६ लाख ८७ हजार ९ सय ३१ रहेको छ ।

इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्लाहरू, विकट पहाडी भू-भाग, बारा र खोटाङ जिल्ला तथा नेपाली काँग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा अद्यावधिक प्रक्रियामा रहेकालाई थप व्यवस्थित गरिने पार्टीले जनाएको छ ।

नयाँ क्रियाशील सदस्यता वितरण कार्य भने अर्को सूचना जारी नभएसम्मका लागि खुल्ला रहने भएको छ ।