

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुपति पत्र (टिचिङ लाइसेन्स) को परीक्षामा यसअघि ६० प्रतिशत विषयगत र ४० प्रतिशत वस्तुगत प्रश्नहरु सोध्ने गरेकोमा अब वस्तुगत प्रश्नमात्र सोध्ने भएको छ । यही चैत २ गतेदेखि नै यो लागु हुनेगरी आयोगले परीक्षाको पाठ्यक्रम परिमार्जन अब वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय गरेको हो ।
अबदेखि प्रतिप्रश्न दुई अंकको दरले ५० वटा वस्तुगत प्रश्न सोधिने छ । यसअनुसार परीक्षा १०० पूर्णाङ्कको हुने छ । पास हुन ५० नम्बर ल्याउनुपर्छ ।
शिक्षक सेवा आयोगका उपसचिव एवम् सूचना अधिकारी सुदर्शन मरहठ्ठाले मावि र निमावि तहको टिचिङ लाइसेन्स परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय भएको जानकारी दिनुभयो ।
शिक्षक सेवा आयोगले २०६१ सालदेखि टिचिङ लाइसेन्सको परीक्षा लिन थालेको हो । विगतमा प्रावि तहको पनि टिचिङ लाइसेन्स परीक्षाको व्यवस्था थियो ।
निमावि र मावि तहको परीक्षाको पाठ्यक्रम परिमार्जन गर्दा आयोगले प्राविबारे भने निर्णय गरेको छैन । निमावि र प्राविको शैक्षिक योग्यता एउटै भएकाले अहिलेलाई प्राविको लागि भनेर निर्णय नभएको बुझिएको छ ।

खबर बजार । ४ चैत्र २०७८, शुक्रबार १०:२९