चीन र भारतका राजदुतसँग प्रधानमन्त्रीको किन भयो एक्ला-एक्लै भेट ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जनवादी गणतन्त्र चीन र भारतका राजदूतसँग एक्लाएक्लै भेट गर्नुभएको छ ।

विदेश राजदुतहरुसँग सामुहिक भेट मात्रै गर्ने घोषणा गर्नुभएका प्रधानमन्त्री शाहले चिनियाँ राजदुत झाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवसँग एक्लाएक्लै भेट्नुभएको हो । दुबैसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो ।

प्रधानमन्त्री शाह र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत माओमिङबीच नेपाल–चीन सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ । भेटमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको हो ।

भेटवार्तामा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग विस्तार गर्नुका साथै विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।

त्यस अवसरमा प्रधानमन्त्री शाहले नेपाल र चीनबीच लामो समयदेखि कायम रहेको ऐतिहासिक सम्बन्धलाई अझ गहिरो बनाउँदै दुवै मुलुकको साझा हितका क्षेत्रमा सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

भारतका राजदुत श्रीवास्तवसँगको भेटमा समेत नेपाल–भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो ।

राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई दुई देशबीचको सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो ।