
काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित हुनुभएको छ । वीरगञ्जमा आयोजित महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउतले ९५८ मत प्राप्त गर्नुभएको छ भने महासचिवमा सञ्जयकुमार यादव निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा राउतको एकल उम्मेदवारी परेको थियो । यद्यपि, पार्टी विधानमा निर्वाचित हुन कुल सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले अध्यक्ष पदमा पनि मतदान गरिएको पार्टीले जनाएको छ ।
महासचिवमा यादव, उपमहासचिवमा मण्डल
महासचिवका तीन प्रतिस्पर्धीमध्ये सिरहाका सञ्जयकुमार यादवले ६१८ मत प्राप्त गरी जित हासिल गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी ममता झाले २२० र चन्दनकुमार सिंहले १६५ मत पाउनुभएको छ ।
झा र सिंहले विधानअनुसार आवश्यक २० प्रतिशत मतको सीमा पार गर्न नसकेको पार्टीले जनाएको छ ।
उपमहासचिवमा सिरहाका निर्मलकुमार मण्डल ५०१ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत प्राप्त गर्नुभएको छ ।
सात उपाध्यक्ष र सात सचिव निर्वाचित
उपाध्यक्षमा अनिताकुमारी मण्डल, अनितादेवी साह, नरेन्द्रप्रसाद चौधरी, बसन्तकुमार कुशवाहा, डा. जयकान्त राउत, राजयकुमार यादव र माधवप्रसाद सिंह निर्वाचित भएका छन् ।
सात उपाध्यक्ष पदका लागि ११ जना प्रतिस्पर्धामा थिए । परमेश्वर मुर्मु, हरपाल सिंह सोडी, मनोहरा देवी बैठा र रोशन खातुन निर्वाचित हुन सकेनन् ।
सचिवमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन् । सात सचिव पदका लागि नौ जनाले प्रतिस्पर्धा गरेका थिए । वीरेन्द्र महतो ‘जीवन त्यागी’ र रामबाबु साह भने पराजित भएका छन् ।





खबर बजार । १८ आश्विन २०८३, आईतवार १५:४८