सुर्खेत । मनसुन थप सक्रिय हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले स्थानीय तहलाई सतर्कता अपनाउन निर्देशन गरेको छ । उच्च जोखिममा रहेका जिल्लाका गाउँ वस्तीमा सतर्कता अपाउन प्रशासन कार्यालयले पालिकालाई निर्देशन गरेको हो । प्रशासन कार्यालयका अनुसार निर्देशनपछि जिल्लाका सबै स्थानीय तह विपद् सतर्कता अपनाउन जुटेको छन् ।
समय नजिकै आईपुगेकाले प्राकृतिक प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरण तथा छिटोछरितो राहत उद्धार र पुनःस्थापनका लागि स्थानीयतहलाई विपद् पूर्वतयारीमा लाग्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । उहाँले जिल्लाका नौ वटै पालिकालाई यसअघि नै पत्राचार गरेर विपद् हेर्ने फोकल पर्सनसहित आवश्यक अन्तिम तयारीमा जुटन आग्रह गरिएको जनाउनुभयो । यता पालिकाहरुले समेत आगामी आवको बजेटमा विपद् व्यवस्थापनका लागि न्यूनतम् १५ लाख बढी रकम बजेट विनियोजन गरिसकेको बताएका छन् । जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले विपद् जोखिम न्यूनीकरणका लागि अन्तरपालिकावीच प्रभावकारी समन्वय र सहकार्य गरिने प्रतिबद्धता गरेको हुन् ।
पूर्वसूचना, तत्काल जनशक्ति परिचालन, राहत उद्दार तथा पुनःस्थापनका लागि अन्तरपालिकाबीच हातेमालो गर्न प्रशासन कार्यालयले जोड दिएको छ । बाढी, पहिरो, आगलागीजस्ता विपद्बाट प्रभावितलाई चालु आर्थिक वर्षमा ८ लाख २५ हजार रुपैयाँ राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय अन्तर्गत जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका नायव सुब्बा नवराज वमले जानकारी दिनुभयो । चालु आवको हालसम्म बाढी, पहिरो र आगलागीमा परी २ जनाको मृत्यु भएको उहाँको भनाइ छ ।
खबर बजार । १६ असार २०७९, बिहीबार १७:१९